सिमरामा मधेस प्रदेश तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा लामालाई निरन्तरता


eShilalekh

१० असार २०८३, बुधबार १८:०५

सिमराः नेपाल तेक्वान्दो संघ मधेस प्रदेश कार्यसमितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बुधबार बाराको सिमरामा सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित राधाकृष्ण वन समूहको सभाहलमा सम्पन्न अधिवेशनले पेमासिद्धी लामालाई अध्यक्षमा पुनः निरन्तरता दिँदै नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मणबहादुर भण्डारी, महासचिवमा राजकुमार लामा, कोषाध्यक्षमा बिरबहादुर रानामगर रहेका छन् । यसैगरी समितिको सदस्यमा भाइकाजी श्रेष्ठ, दिवाकर भण्डारी, टेकबहादुर स्याङबा, सुमनकुमार लामा, सुरेश लामा, दीपककुमार तिवारी, पूर्णबहादुर राना, मोहन सापकोटा, मुक्ती यादव र प्रमोदकुमार ठाकुर रहेका छन् ।

निर्वाचित समितिलाई प्रमुख निर्वाचन अधिकृत शालिकराम अधिकारीले सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए ।

यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले तेक्वान्दो खेललाई विद्यालय स्तरमै लैजानुपर्ने बताए । नेपालले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गरेको तेक्वान्दो खेललाई विद्यालय तहबाटै संचालन गर्न सकिए दक्ष खेलाडी उत्पादनमा टेवा पुग्ने पौडेलको भनाई थियो ।

खेलकुदको विकासका लागि उपमहानगरपालिका सकारात्मक रहेको बताउँदै पौडेलले नगर खेलकुद विकास समितिलाई सक्रिय बनाउन लागिएको बताए । उनले हालै नगर खेलकुद विकास समितिलाई पूर्णता दिएको समेत बताएका छन् ।

यसैगरी नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले तेक्वान्दो खेलप्रति बढ्दो आकर्षणलाई व्यवस्थितरुपमा अघि बढाउन निर्देशन दिएका छन् । उनले जिल्ला र प्रदेशले गर्ने कामले केन्द्रको नतिजा देखिने भन्दै सम्भ, अनुशासित र मर्यादित भएर तेक्वान्दोको विकासमा लाग्न आग्रह गरेका छन् । गुरुङले स्थानीय तहले अपनत्व लिन सके तेक्वान्दो खेलको विकासका साथै दक्ष खेलाडी उत्पादन उत्साहजनक हुने समेत बताए । विभिन्न देशमा आयोजना हुने ठूला प्रतियोगिता स्थानीय तहकै नेतृत्वमा आयोजना हुने उदाहरण दिँदै गुरुङले नेपालमा पनि त्यस्ता कार्यक्रम अघि बढाउन आवश्यक रहेको बताए ।

तेक्वान्दो संघ मधेस प्रदेशका अध्यक्ष लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव हेमन्त डांगी, केन्द्रीय कोषाध्यक्ष कासिम मिया, केन्द्रीय सदस्य टार्जन सुब्बा, कुमार लामा घिसिङ, गुरुप्रसाद गौतम, मुख्य प्रशिक्षक पूर्ण योञ्जन, प्रशिक्षक विभागका कविराज खड्गीसहित प्रदेश समिति, जिल्ला समितिका पदाधिकारी, सदस्य, प्रशिक्षक, खेलाडीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संघले १६औं राष्ट्रिय खेलकुदमा पदक जित्ने खेलाडी, प्रशिक्षकलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्