तेक्वान्दोको गरिमा र अनुशासन कायम राखेर काम गर्न अध्यक्ष गुरुङको निर्देशन

सिमराः नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष दीपराज गुरुङले तेक्वान्दो खेलको गरिमा, अनुशासन र मर्यादा कायम राखेर काम गर्न प्रशिक्षक, खेलाडी, निर्णायक, संघका पदाधिकारी तथा सदस्यलाई निर्देशन दिएका छन् । बाराको सिमरामा आयोजित ६ दिने रेफ्री रिफ्रेसर तथा सेमिनारको समापन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय स्तरमा सफल तेक्वान्दो खेलको गरिमा उच्च राख्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।
उनले जिल्ला तथा प्रदेश स्तरका गतिविधिहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालले हासिल गर्ने नतिजामा प्रत्यक्ष प्रभाव पार्ने हुँदा जिम्मेवार र प्रतिवद्ध भएर अघि बढ्न अनुरोध गरे । उनले महिला खेलाडीप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा असहज महसुस नहुने वातावरणमा प्रशिक्षण सञ्चालन गर्न, खेलाडीसँग सम्मानजनक व्यवहार गर्न तथा सुरक्षित र महिलामैत्री वातावरण बनाउन पनि उनले निर्देशन दिए ।
उनले तेक्वान्दो केवल खेल मात्र नभई अनुशासन, संस्कार र व्यक्तित्व विकाससँग जोडिएको विषय भएकाले यससँग सम्बन्धित प्रशिक्षक, निर्णायक, पदाधिकारी र खेलाडीले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तहसँग समन्वय गरेर तेक्वान्दो गतिविधि विस्तार गर्न तथा विद्यालय तहसम्म तेक्वान्दो खेललाई प्रवर्द्धन गर्न जोड दिएका थिए ।
विश्व तेक्वान्दो महासंघले परिवर्तन गरेको नियमलाई देशभर लैजाने अभियानसहित सबै प्रदेशमा कार्यक्रम गरिएको बताउँदै गुरुङले यस्तो कार्यक्रममा सहभागी नहुनेले तेक्वान्दोका कुनै पनि खेलमा सहभागी हुन नपाउने बताए । देशभर सञ्चालन गरिएको यो कार्यक्रममा एक हजार दुई सय निर्णायक सहभागी भएको पाउँदा खुशी लागेको बताउँदै गुरुङले आफ्नो भूमिकामा प्रश्न उठ्ने गरी काम नगर्न समेत सुझाव दिए ।

विश्व तेक्वान्दो महासंघले हालै लागू गरेको नयाँ नियमअनुसार निर्णायकहरूलाई अद्यावधिक गराउने उद्देश्यले शुक्रबारदेखि आयोजित सेमिनार बुधबार सम्पन्न भएको हो । सेमिनारमा विभिन्न स्थानबाट आएका ६९ जना निर्णायक सहभागी भएका थिए । सहभागीलाई संघका अध्यक्ष गुरुङले प्रमाणपत्र वितरण गरेका थिए ।
सेमिनारमा सहभागीहरूलाई क्योरुगी र पुम्से विधासम्बन्धी विश्व तेक्वान्दो महासंघका नयाँ नियम तथा खेल सञ्चालनसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । अन्तर्राष्ट्रिय निर्णायक तथा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङ, अन्तर्राष्ट्रिय निर्णायक नविना बुढाथोकी, काजल श्रेष्ठ र तालिम समिति सदस्य विजय शाह ठकुरीले प्रशिक्षण दिएका थिए ।

तेक्वान्दो संघ मधेस प्रदेशका अध्यक्ष पेमासिद्धी लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव हेमन्त डांगी, केन्द्रीय कोषाध्यक्ष कासिम मिया, केन्द्रीय सदस्य टार्जन सुब्बा, कुमार लामा घिसिङ, गुरुप्रसाद गौतम, मुख्य प्रशिक्षक पूर्ण योञ्जन, प्रशिक्षक विभागका कविराज खड्गीसहित प्रदेश समिति, जिल्ला समितिका पदाधिकारी, सदस्य, प्रशिक्षक, खेलाडीको उपस्थिती रहेको थियो ।







