प्रोग्रेस एकेडेमीद्धारा कक्षा १२ मा ‘एप्लस’ ल्याउने विद्यार्थीको शुल्क फिर्ता, अभिभावकलाई सम्मान


eShilalekh

१५ असार २०८३, सोमबार १३:१७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित प्रोग्रेस एजुकेशन एकेडेमीले कक्षा १२ मा ‘एप्लस’ नतिजा ल्याउने दुई विद्यार्थीको शुल्क फिर्ता गरेको छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्न विद्यालयले एक वर्षको शुल्क फिर्ता गरेको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच छात्र दिलिप महतो र सुरज कुमारको एक वर्षको शुल्क बराबरको ३६ हजार रुपैयाँको चेक अभिभावकलाई हस्तान्तरण गरिएको हो । सो अवसरमा विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान समेत गरेको छ ।

विद्यालयका प्रिन्सिपल शान्ताराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, डुमरवाना बहुमुखी क्याम्पसका अध्यक्ष राधेश्याम सिवाकोटी, प्याब्सन बाराका अध्यक्ष राजु कार्की, प्याब्सन बाराका सल्लाहकार नेत्रप्रसाद दाहाल, डुमरवाना पब्लिक स्कुलका संचालक अनिल तिवारी, एक्स सर्भिसमेन चिल्ड्रेन एकेडेमीका प्रिन्सिपल कृष्ण रजतलगायत सहभागी थिए । कार्यक्रमको सहजीकरण विद्यालयका सञ्चालक अध्यक्ष तथा शिक्षक रञ्जित सापकोटाले गरेका थिए ।

२०८१ सालमा उपमहानगरबाट कक्षा ११ सञ्चालनको अनुमति पाएको यस विद्यालय पहिलो पटक कक्षा १२ को परीक्षामा सहभागी हुँदै सतप्रतिशत नतिजा ल्याएको थियो । विद्यालयका १८ विद्यार्थीमध्ये दुई जना ‘एप्लस’, ७ जनाले ‘ए’, ५ जनाले ‘बी प्लस’ र ४ जनाले ‘बी’ ग्रेड प्राप्त गरेका थिए । यस विद्यालयले २०८१ सालको कक्षा ८ र २०८२ एसईई परीक्षामा समेत शतप्रतिशत नतिजा हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्