बारामा १२ लाखभन्दा बढीको अवैध सामान र दुई मोटरसाइकल बरामद


eShilalekh

४ मंसिर २०८३, शुक्रबार १३:४५

सिमराः बाराको विश्रामपुर गाउँपालिका-१ कल्याणपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले १२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी बरैनियाबाट खटिएको गस्ती टोलीले शुक्रबार भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको औषधि, चिनी र झुमर नियन्त्रणमा लिएको हो।

उक्त अवैध सामान ढुवानीमा प्रयोग गरिएका दुईवटा मोटरसाइकलसमेत बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीले जानकारी दिए।

बरामद गरिएका सामान तथा मोटरसाइकलको अन्दाजी मूल्य १२ लाख १० हजार रुपैयाँ बराबर रहेको छ। नियन्त्रणमा लिइएका सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सूचना अधिकारी अधिकारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्