आज हरिबोधनी एकादशी, तुलसी-दामोदरको विवाह गरिँदै

सिमराः कार्तिक शुक्ल एकादशीका अवसरमा आज (शुक्रबार) हिन्दु धर्मावलम्बीहरूले हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । अन्य एकादशीभन्दा ठूलो र विशेष मानिने भएकाले यसलाई ठूली एकादशी भन्ने गरिएको हो ।
धार्मिक विश्वासअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु चार महिनापछि आजै जागा हन्छन् । पर्वका अवसरमा आज घरघरमा तुलसीको मठ सिँगारेर भगवान् विष्णुको स्वरूप मानिने शालिग्राम र तुलसीको विवाह गर्ने परम्परा रहेको छ । श्रद्धालुहरूले विधिपूर्वक पूजाआजा गरी तुलसी विवाह सम्पन्न गर्ने प्रचलन छ ।
वैदिक सनातन धर्मशास्त्रमा तुलसीलाई निकै पवित्र वनस्पति मानिएको छ भने आयुर्वेदमा पनि यसको विशेष महत्त्व रहेको छ । धार्मिक र स्वास्थ्य दुवै दृष्टिकोणले महत्त्वपूर्ण भएकाले घरको आँगनमा तुलसीको मठ बनाई नियमित पूजा गर्ने चलन रहिआएको छ ।
परम्पराअनुसार बिहानै उठेर तुलसीलाई जल चढाउने र नमन गर्ने गरिन्छ । जन्मदेखि मृत्युसम्मका धार्मिक कर्मकाण्ड, पूजाआजा तथा शुभकार्यमा तुलसीको पात र बिरुवाको प्रयोगलाई पवित्र मानिन्छ ।
विष्णु भगवानको जागरणसँगै चतुर्मासमा रोकिएका विवाह, व्रतबन्ध, गृह प्रवेश र अन्य माङ्गलिक कार्यहरूको शुभ मुहूर्त सुरु हुने मान्यता छ।





