सर्लाहीमा श्रीमतीलाई ज्यान मार्ने प्रयास गरेको अभियोगमा श्रीमान् पक्राउ


eShilalekh

१२ श्रावण २०८३, मंगलवार १६:५७

सर्लाही: सर्लाहीमा श्रीमतीलाई कुटपिट गरी ज्यान मार्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बागमती नगरपालिका ५ टेकानीस्थित ससुराली घरमा श्रीमतीलाई कुटपिट गरी ज्यान मार्ने प्रयास गरेको अभियोगमा धनकौल गाउँपालिका १ शेखौनाका २१ वर्षीय बसन्ता बैठा धोबीलाई पक्राउ गरिएको हो।

धोबीले सोमबार राति करिब ८ बजे आफ्नै १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गर्दै घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका थिए।

सोही क्रममा नाता पर्ने १० वर्षीया बहिनी कुसुम कुमारीले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन्। आफन्तले समयमै पासो खोलेर पीडित चिन्ता देवीको उद्धार गरेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थल पुगी घाइतेलाई बागमती मोडेल अस्पताल कर्मैया पुर्‍याएको थियो। हाल उनको उपचार रौतहटको बेटर नेपाल गरुडामा भइरहेको छ भने उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

आरोपी धोबीलाई नियन्त्रणमा लिई यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्