नारायणी अस्पतालका ६८ चिकित्सकद्वारा सामूहिक राजीनामा


eShilalekh

१२ श्रावण २०८३, मंगलवार १७:४९

वीरगञ्जः वीरगञ्जस्थित नारायणी अस्पतालका ६८ चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार चिकित्सकहरूले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।

साउन ८ गते अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएपछि चिकित्सकहरूले आकस्मिकबाहेकका सेवा बन्द गर्दै आन्दोलन गरिरहेका थिए । घाइते डा. रामको हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

डा. सिंहका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि सकारात्मक बनेका थिए र आक्रमणकारीलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासनपछि जिल्ला प्रशासन कार्यालय पर्सामा वार्तामा सहभागी भएका थिए ।

तर वार्ताका क्रममा नेपाल चिकित्सक सङ्घका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने धारणा राखेपछि वातावरण तनावपूर्ण बनेको र प्रमुख जिल्ला अधिकारी आक्रोशित भएको डा. सिंहको आरोप छ ।

उनका अनुसार त्यसपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले चिकित्सकप्रति अपशब्द प्रयोग गर्दै प्रहरी परिचालन गरी चिकित्सकहरूलाई कार्यालयभित्र करिब एक घण्टा नियन्त्रणमा राखेको र अपराधीसरह व्यवहार गरिएको थियो ।

प्रशासनको यही व्यवहारपछि सरकारी चिकित्सकहरूले यस्तो वातावरणमा काम गर्न नसकिने निष्कर्षसहित सामूहिक राजीनामा दिएको डा. सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्