सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु जारी

सिरहाः जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आन्दोलन तथा हुलदङ्गाका कारण शान्ति भङ्ग हुन सक्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यो आदेश जारी गरेको हो ।
प्रशासनले जारी गरेको सूचना अनुसार गोलबजार क्षेत्रमा बिहिबार दिउँसो २ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू रहनेछ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस कर्फ्यु आदेशको पूर्ण पालना गरी जिल्लाको समग्र शान्ति सुव्यवस्थालाई सामान्य बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको बताएका छन् ।
प्रशासनले कर्फ्युको उल्लङ्घन हुने गरी कुनै किसिमका गतिविधि भए वा गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने स्पष्ट चेतावनीसमेत दिएको छ ।








