वीरगञ्जका विभिन्न क्षेत्रमा भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा जारी

वीरगञ्ज: वीरगञ्जः जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार साउन १४ गते साँझ ५ बजेदेखि भोलि साउन १५ गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी रहनेछ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम वीरगञ्ज महानगरपालिकाका तोकिएका चार किल्लाभित्र पाँच जनाभन्दा बढी मानिसहरू जम्मा वा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।
प्रशासनले तोकेको चार किल्लामा पूर्वमा प्रतिमा चौक र बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चौक तथा दक्षिणमा शंकराचार्य गेट रहेका छन् ।
उक्त आदेशको उल्लङ्घन गर्ने जोकोहीलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।








