सर्लाहीमा एक सय ९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ


eShilalekh

१८ श्रावण २०८३, सोमबार १२:५३

सर्लाहीः सर्लाही प्रहरीले एक सय ९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो र सोही स्थानका २५ वर्षीय अमन कुमार रहेका छन् ।

जिल्लाको लालबन्दी नगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्गमा सोमबार बिहान गरिएको सवारी जाँचका क्रममा उक्त गाँजा बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार बिहान करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा बीआर ०९ एम ३७६६ नम्बरको कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ वटा पोकाबाट करिब एक सय ९ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजा, कारसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्