महोत्तरीमा स्कुल बस दुर्घटना, ६ जना घाइते

महोत्तरीः महोत्तरीको गौशाला नगरपालिका ९ डुमरवानास्थित भित्री सडकखण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बिहान करिब ७ः३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका ५ का करिब ४० वर्षीय विजय भुजेल, गौशाला ११ का महेश्वर महतोका १० वर्षीय छोरा प्रतिक कुशवाहा, ८ वर्षीय छोरा प्रज्वल कुशवाहा र १३ वर्षीया छोरी प्रिति कुशवाहा घाइते भएका छन् ।
यसैगरी गौशाला ९ का शेख जावेदका १३ वर्षीय छोरा उमर शेख, गौशाला ११ का रमेश कुमार महतोका ६ वर्षीय छोरा आदर्श कुशवाहा घाइते भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।
घाइतेमध्ये १ जनाको अवस्था मध्यम र अन्य ५ जनाको अवस्था सामान्य रहेको छ ।
घाइतेहरुलाई उपचारका लागि गौशालास्थित बिके अस्पताल तथा स्थानीय पोलिक्लिनिकहरूमा पठाइएको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







