पथलैया टाउन कपः पथलैया युनाइटेडको बिजयी सुरुवात


eShilalekh

२० श्रावण २०८३, बुधबार १९:३३

सिमराः पथलैया युनाइटेड क्लबले दोस्रो पथलैया टाउन कप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । पथलैयास्थित थानीमाई मन्दिरको खेल मैदानमा भएको उद्घाटन खेलमा पथलैयाले युवा स्पोर्टस् क्लब वीरगन्जलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो ।

निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । टाइब्रेकरमा वीरगन्जका एक खेलाडीको प्रहार पोष्टमा ठोक्किएर फर्किएको थियो । खेलको प्लेयर अफ दि म्याच पथलैयाका गोलरक्षक घोषित भए ।

प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा औराह फुटबल क्लब र बिवाईसी भिड्नेछन् भने योङ ब्वाईज र तमु फुटबल क्लबबीच दोस्रो खेल हुनेछ ।

पथलैया टाउन एफसीको आयोजनामा सुरु भएको प्रतियोगितामा २२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद प्राप्त गर्नेछन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को कार्यालय प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा रहेको छ भने थानीमाई ढुवानी सेवा सहप्रायोजक रहेको छ । प्रतियोगितालाई थानीमाई एफसी र पथलैया दिव्यज्योती क्लब सहयोगीका रुपमा रहेका छन् । भायोनेट प्रतियोगिताको इन्टरनेट पार्टनरका रुपमा रहेको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसकी युवा नेतृ मेघा शाहीले गरेकी थिइन् । उद्घाटन समारोहमा नेतृ शाहीसहित पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयबहादुर श्रेष्ठ, पूर्वजनप्रतिनिधि रामदास धौजुलगायतले मन्तव्य राखेका थिए ।

पथलैया टाउन एफसीका अध्यक्ष दीप राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सुरेश विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्