यस वर्षको ‘सुबोध स्मृति पत्रकारिता पुरस्कार’ गौतमलाई


eShilalekh

२४ श्रावण २०८३, आईतवार १४:२४

वीरगन्जः प्रतीक दैनिकले प्रदान गर्दै आएको ‘सुबोध स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने भएको छ। प्रतीक दैनिकको शनिबार बसेको बैठकले पत्रकारिता क्षेत्रमा गौतमले पुर्‍याएको योगदानको कदर गर्दै उक्त निर्णय गरेको हो।

५१ हजार रुपैयाँ राशिको सो पुरस्कार प्रतीक प्रकाशन समूहको ४०औं वार्षिकोत्सवका अवसरमा आगामी भदौ १ गते आयोजना हुने समारोहमा हस्तान्तरण गरिनेछ।

यसैगरी गत वर्षदेखि प्रदान गर्न थालिएको १५ हजार रुपैयाँ राशिको ‘स्वर्गीय चिरञ्जीवी कोइराला पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार अर्जुन चौधरीलाई प्रदान गर्ने निर्णय गरिएको छ। सोही समारोहमा स्तम्भ लेखनमार्फत पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै स्तम्भकार राजेन्द्र कोइरालालाई ‘स्तम्भकार पुरस्कार’ प्रदान गरिनेछ।

पत्रिकाले आफ्ना ठोरी संवाददाता चिरञ्जीवी सापकोटा र सहायक मेसिन अपरेटर विजय श्रेष्ठलाई पनि वार्षिकोत्सवका अवसरमा पुरस्कृत गर्ने भएको छ।

प्रतीक दैनिकले सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वका साथै उत्कृष्ट कर्मचारीहरूलाई हरेक वर्ष वार्षिकोत्सवका दिन सम्मान गर्दै आएको छ। आगामी भदौ १ गते हुने ४०औँ वार्षिकोत्सव समारोहमा पुरस्कार तथा सम्मान वितरणका साथै पत्रिकाको विगत, वर्तमान र आगामी कार्ययोजनाबारे समेत छलफल गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्