पर्सामा श्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

वीरगन्जः पर्सा प्रहरीले श्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार जिल्ला सीतामढी ६ का २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका १ का ३२ वर्षीय उपेन्द्र साह, २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दबासिनी गाउँपालिका १ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन् ।
वीरगञ्ज महानगरपालिका १० स्थित आदर्शनगरमा प्रहरीले प्रदेश २–०३–००३ प ७२१५ नम्बरको सुपर स्प्लेन्डर र ना ५७ प ५१८२ नम्बरको एफजेड मोटरसाइकल रोकेर जाँच गरेको थियो ।
जाँच गर्ने क्रममा प्रहरीले मोटरसाइकलमा सवार रहेका उनिहरुको साथबाट उक्त परिमाणको नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्ले जानकारी दिएका छन् ।
बरामद नगद, मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







