वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मलकुमार उप्रेती नियुक्त

सिमराः सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले निजगढ-९ घर भएका उप्रेतीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उप्रेती फोरम फर नेसन बिल्डिङ (एफएनबी) नेपालका अध्यक्ष तथा राष्ट्रिय सुरक्षित आप्रवासन सञ्जाल (एनएनएसएम) का कोषाध्यक्ष समेत हुन् । यसअघि उनले वैदेशिक रोजगार बोर्डअन्तर्गतको आप्रवासी स्रोत केन्द्रका व्यवस्थापक, प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) र इन्सेकमा मानवअधिकारसम्बन्धी जिम्मेवारी सम्हालेका थिए ।
उनले पूर्वाञ्चल विश्वविद्यालयबाट कानुनमा र रत्न राज्यलक्ष्मी क्याम्पसबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् । उनी मानवअधिकार, आप्रवासन, सुशासन, शान्ति निर्माण र न्यायमा पहुँचका क्षेत्रमा झण्डै दुई दशकदेखि सक्रिय छन् । एनजीओ फेडेरेसन काठमाडौंका सचिवसमेत रहेका उप्रेतीसँग सामाजिक कल्याण परिषद्का मूल्यांकन परामर्शदाता तथा विभिन्न सरकारी निकाय, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र संयुक्त राष्ट्रसंघीय संस्थाका परामर्शदाताका रूपमा काम गरेको अनुभव पनि छ ।
अघिल्ला सरकारको पालामा भएका राजनीतिक नियुक्तिलाई वर्तमान सरकारले अध्यायदेशमार्फत पदमुक्त गरेपछि उक्त पद रिक्त रहेको थियो । सरकारले अध्यादेश ल्याउँदा उक्त पदमा बारा कोल्हबीकै डा. द्धारिका उप्रेती कार्यकारी निर्देशक थिए ।







