लालबकैया नदीमा बेपत्ता तीन बालबालिकामध्ये दुई जनाको शव भेटियो, एक जना अझै बेपत्ता


eShilalekh

२७ श्रावण २०८३, बुधबार १४:२५

सिमराः रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा मंगलबार बेपत्ता भएका तीन जना बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ। घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिणतर्फ परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया नदीको किनारमा दुवै जनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त गौतमका अनुसार देवाही गोनाही नगरपालिका–१ करुनियाका करमे आलमका १० वर्षीय छोरा मोहमद रमतुल्लाह र सोही ठाउँका हिसी अख्तरकी १० वर्षीया छोरी सबनम खातुन मृत भेटिएका हुन् । प्रहरीले दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा पठाएको छ ।

घटनामा बेपत्ता भएकी स्थानीय शेख खुरसेदकी १० वर्षीया छोरी रौशन खातुनको अवस्था भने अझै अज्ञात छ। बेपत्ता बालिकाको खोजी कार्य निरन्तर जारी रहेको डिएसपी गौतमले जानकारी दिएका छन् ।

लालबकैया नदीमा नुहाउन गएका तीनै जना बालबालिका मंगलबार दिउँसो २ बजेदेखि बेपत्ता भएका थिए। घटनाबारे जानकारी पाउनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी तीव्र रूपमा खोजी कार्य अघि बढाइएको थियो।

प्रतिक्रिया दिनुहोस्