भक्तपुरको होल्डिङ सेन्टरमा बाराका सुकुम्बासी पासवानको मृत्यु

सिमराः भक्तपुरको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाराका एक भूमिहीन सुकुम्बासीले आत्महत्या गरेका छन् ।
बाराको सुवर्ण गाउँपालिका २ का ५७ वर्षीय हिरालाल पासवानले होल्डिङ सेन्टरको दोस्रो तलाको कोठा नम्बर २०७ मा पासो लगाई आत्महत्या गरेका हुन् ।
कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि स्थानान्तरण गरी भक्तपुर ल्याइएका सुकुम्बासीहरूको समूहमा पासवान पनि परेका थिए ।
घटनाको सूचना पाएसँगै प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा सुरक्षा टोली घटनास्थलमा पुगे पनि सुकुम्बासीहरूले शव उठाउन अस्वीकार गरेका छन् भने मुचुल्का नगरि नै प्रहरी फर्किएको छ ।
मृतक पासवान श्रीमती,छोरा र बुहारीसहित होल्डिङ सेन्टरमा बस्दै आएका थिए । घटनाको समयमा उहाँकी श्रीमती बारा आएकी थिइन् । कोठामा एक्लो रहेको बेलामा उनले यो अप्रिय कदम चालेको देखिएको छ ।
यता आन्दोलनरत सुकुम्बासीहरूले भने राज्यले आफूहरूको ठोस व्यवस्थापन गर्न गम्भीर उदासीनता देखाएका कारण नै यस्तो गम्भीर परिणाम आएको आरोप लगाएका छन् । उनीहरूले यस घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले ब्यहोर्नुपर्ने कडा प्रतिक्रिया दिएका छन् ।







