मधेश प्रदेशका निजामती र स्थानीय तहका कर्मचारीको तलब १० प्रतिशतले बढ्यो


eShilalekh

२९ श्रावण २०८३, शुक्रबार १५:०२

जनकपुरधाम: मधेश प्रदेश सरकारले प्रदेश निजामती तथा स्थानीय सेवाका कर्मचारीहरूको सुरु स्केलको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश भवनमा शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त तलब वृद्धिको निर्णय पारित गरेको हो ।

आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यको बुँदा नम्बर १११ मा गरिएको नीतिगत व्यवस्थालाई टेकेर सरकारले यो कदम चालेको हो। वृद्धि गरिएको नयाँ तलबमान गत साउन १ गतेदेखि नै लागू हुने गरी स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज भट्टराईले बैठकले कर्मचारीहरूको नयाँ तलबमानका साथै ग्रेड रकम र अधिकतम ग्रेड सङ्ख्यासमेत स्वीकृत गरेको जानकारी दिए ।

स्थानीय सेवाका कर्मचारीहरूको हकमा भने स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा ४४ को उपदफा (८) बमोजिम यो निर्णय छिट्टै प्रदेश राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याइने अर्थमन्त्री भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्