गरिमा हत्या प्रकरणः एसएसपी ढकालको नेतृत्वमा छानबिन सुरु

सिमराः गरिमा हत्या प्रकरण र त्यसपछि विकसित घटनाक्रमको विस्तृत छानबिन तथा अनुसन्धानका लागि गठित समितिले आफ्नो काम तीव्र पारेको छ । मधेश प्रदेश प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय समितिले बारा आएर छानबिन अघि बढाएको हो ।
समितिमा प्रहरी निरीक्षक बबिन्द्र नेवाङ र वरिष्ठ प्रहरी नायब निरीक्षक रुपक मैनाली सदस्य रहेका छन्। समितिले बलात्कारपछि हत्या भएको घटनाका साथै नाबालकको भिडियो सार्वजनिक भएको विषयमा समेत केन्द्रित रहेर सूक्ष्म छानबिन गरिरहेको छ । अनुसन्धानका क्रममा बालकको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्यमा संलग्न देखिएका प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिई कानूनी कारबाही अगाडि बढाइएको छ ।
एसएसपी ढकालका अनुसार विकमाथि व्यक्तिगत गोपनीयता सम्बन्धी ऐन २०७५ र विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारबाही प्रक्रिया सुरु गरिएको हो । समितिले पीडित परिवारलाई न्याय दिलाउन र दोषीलाई कडाभन्दा कडा सजाय दिलाउने उद्देश्यका साथ अनुसन्धानलाई समेत सहयोग गरिरहेको छ।
यस संवेदनशील घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले हालसम्म सात पुरुष र दुई महिला गरी ९ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये दुई जना नाबालक रहेका छन्, जसमा १६ वर्षीय एक बालकले अपराध स्वीकार गरिसकेका छन्। ती बालकले घटनामा अर्का १४ वर्षीय बालकको पनि संलग्नता रहेको बयान दिएका छन्। प्रहरीले पक्राउ परेका सबै जनामाथि गहन सोधपुछ र प्रमाण संकलनको काम जारी राखेको छ।
जीतपुरसिमरा उपमहानगरपालिका-१ दसधुरे बस्तीबाट गत साउन ३१ गते बिहान हराएकी बालिकाको शव भदौ २ गते मंगलबार बिहान भेटिएको थियो। उनको शव घरभन्दा करिब डेढ सय मिटर दक्षिणतर्फ रहेको एउटा खाली घरमा अर्धनग्न अवस्थामा फेला परेको थियो ।
घटनाको विरोधमा सिमरासहित देशभर प्रदर्शन भएको थियो । स्थानीयले पथलैया–वीरगन्ज सडकखण्ड चार दिनसम्म अवरुद्ध पारेका थिए ।
पीडित पक्ष र सरकारबीच तीन बुँदे सहमति भएपछि सडक सुचारु भएको थियो भने आइतबार शवको अन्तिम संस्कार गरिएको थियो ।







