रसुवा बाढी: माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत बाराका दुई युवक बेपत्ता


eShilalekh

१० भाद्र २०८३, बुधबार १८:३०

सिमरा: रसुवामा आएको भीषण बाढीमा परी बाराका दुई जना युवक बेपत्ता भएका छन् । रसुवास्थित माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत सुवर्ण गाउँपालिका-४ हरैयाका रमेशकुमार यादव र कलैया उपमहानगरपालिका-२ दोहोरीका सुदीप मण्डल बाढी आएयता सम्पर्कविहीन भएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका पाँचौं तहका कर्मचारी यादव ३३ मेगावाट क्षमताको माथिल्लो त्रिशूली हाइड्रोपावरमा विगत एक वर्षदेखि कार्यरत थिए। उनकी पत्नी अनिशाका अनुसार बुधबार बिहान ९ बजे कोठामा खाना खाएर काममा निस्किएका यादव त्यसपछि सम्पर्कमा आएका छैनन् । बाढीकै समयमा उनी अचानक बेपत्ता भएको र हालसम्म कुनै खबर नपाउँदा आफूहरू चिन्तित बनेको उनका साथी इन्जिनियर परवेज खानले बताएका छन् ।

यसैगरी २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा मेकानिक पदमा कार्यरत २७ वर्षीय सुदीप मण्डल पनि सोही समयदेखि बेपत्ता छन् । सुदीपका भिनाजु अवधेश मण्डलका अनुसार उनले बिहान ७:३० बजे घरमा बुवा बिकाउसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

कुराकानीका क्रममा रक्षाबन्धनका लागि घर आउने योजनाबारे चर्चा भइरहेकै बेला कामको लागि बोलाइएपछि पछि कुरा गर्छु भन्दै उनी निस्किएका थिए । त्यसयता उनको मोबाइल फोन ‘स्वीच अफ’ छ र परिवारसँग कुनै सम्पर्क हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्