साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भए डीएसपी सुवास हमाल

सिमरा: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।
उच्च मनोबल, साहस र कर्तव्यनिष्ठाका साथ जिम्मेवारी निर्वाह गरेको भन्दै डीएसपी हमाललाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा विभिन्न समुदायका व्यक्तिबीच भएको झडपपछि उत्पन्न हिंसात्मक तथा ध्वंसात्मक गतिविधि नियन्त्रणमा डीएसपी हमालको नेतृत्वमा प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरेको थियो । साउन २७ गतेसम्म उक्त क्षेत्रमा प्रहरी परिचालन गरी संवेदनशील स्थानको निगरानी, निषेधाज्ञा तथा कर्फ्यु कार्यान्वयन र शान्ति सुरक्षाको व्यवस्थापन गरिएको थियो।
प्रहरीको सक्रियताका कारण सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड हुनबाट जोगाउनुका साथै थप जनधनको क्षति हुन नदिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। घटनामा मृत्यु भएका व्यक्तिहरूको दाहसंस्कारका क्रममा समेत प्रहरीले आवश्यक सुरक्षा प्रबन्ध मिलाएको थियो।
त्यसैगरी डीएसपी हमालको नेतृत्वमा इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर २३.१३ ग्रामसहित लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरी सफल भएको थियो । विभिन्न स्थानबाट भन्सार छली ल्याइएका कपडालगायत खाद्यान्न सामग्रीसमेत बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सुनसरीमा दाखिला गरिएको थियो ।
प्रहरी सेवा प्रवाहमा अनुशासन, व्यावसायिकता र कर्तव्यनिष्ठा प्रदर्शन गर्दै आम नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन तथा प्रहरी संगठनको गरिमा बढाउन योगदान पुर्याएको मूल्याङ्कन गर्दै डीएसपी हमाललाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
हमाल यसअघि प्रहरी निरीक्षक हुँदा इलाका प्रहरी कार्यालय सिमराको प्रमुख थिए ।







