रसुवा बाढीः जीतपुरसिमरा उपमहानगरले ११ लाख सहयोग गर्ने


eShilalekh

११ भाद्र २०८३, बिहीबार १८:०१

सिमराः रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि जीतपुरसिमरा उपमहानगरपालिकाले प्रभावितहरूको राहत तथा उद्धारका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। उपमहानगरको बिहीबार बसेको ६९औं नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उपमहानगरका लेखा प्रमुख तथा उपसचिव हरिशंकरप्रसाद कुर्मी जानकारी गराएका छन् । अकल्पनिय रुपमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, पुर्ननिर्माणका लागि उक्त रकम सहयोग गर्ने निर्णय भएको कुर्मीले बताए ।

यसैगरी आफ्नो सेवा सुविधाबाट नगर प्रमुखले १० हजार, उपप्रमुखले पाँच हजार, वडाध्यक्ष तथा कार्यपालिका सदस्यले दुई हजार थप रकम सहयोग गर्ने निर्णय गरिएको छ । उक्त रकम पनि कोषमा जम्मा गरिनेछ । बैठकले उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी र शिक्षकहरूलाई पनि स्वैच्छिक रूपमा राहत कोषमा योगदान गर्न आह्वान गर्ने निर्णय गरेको छ ।

उपमहानगरले बाढी प्रभावित क्षेत्रमा काम गर्न वा तीर्थाटनका लागि गएका उपमहानगरवासीहरूको यथार्थ स्थिति पत्ता लगाउन स्थानीय वडा कार्यालयहरूमार्फत विवरण तथा तथ्याङ्क संकलन गर्ने निर्णय गरेको छ । प्रभावित नागरिकहरूको सूचना आदानप्रदानलाई सहज बनाउन उपसचिव उमेश वाग्लेलाई ९८६०८१११११ र नगर प्रहरी इन्चार्ज रविनकुमार खड्कालाई ९८५५०२९११०, ९८६६१२९९१६ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्