कलैयामा भएको मोटरसाइकल दुर्घटनामा जनमतका केन्द्रीय सदस्य पाण्डेको निधन


eShilalekh

१२ भाद्र २०८३, शुक्रबार ०८:०१

सिमरा: जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । बाराको कलैया उपमहानगरपालिका-१४ स्थित लक्ष्मिनियामा मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय पाण्डेको निधन भएको हो ।

कलैयाबाट बघवनतर्फ जाने क्रममा उनले चलाएको म.प्र.०३-०२८ प ७१९६ नम्बरको मोटरसाइकल राति करिब १० बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनको शरीरको विभिन्न भागमा चोट लागेको थियो । दुर्घटना लगत्तै उनलाई प्रादेशिक अस्पताल कलैया हुँदै बयोधा मेडिसिटी अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

कलैया उपमहानगरपालिका-१४ निवासी युवा नेता पाण्डे राजनीतिमा सक्रिय थिए । उनले पूर्व मधेस प्रदेशसभा सदस्य पारसप्रसाद साहको सचिवालयमा रहेर काम गरेका थिए । उनको निधनमा विभिन्न राजनीतिक दलका नेतासहित स्थानीयले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्