समाजसेवी राजी राणाद्वारा प्रधानमन्त्री उद्धार कोषमा एक करोड ९ लाख सहयोग

सिमराः रसुवा बाढीका कारण देशले ठूलो संकट व्यहोरिरहेका बेला बारा सिमराकी समाजसेवी राजी राणाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनस्थापनाका लागि ८८ वर्षीया राणाले व्यक्तिगत तर्फबाट उक्त रकम उपलब्ध गराएकी हुन् ।
राणाले आफ्ना सहयोगी कृष्ण बस्नेतमार्फत उक्त रकम सरकारलाई उपलब्ध गराएकी थिइन् । नगद सहयोगबाहेक राणाले विपद् प्रभावितहरूका लागि थप २५ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा जिन्सी सामग्री उपलब्ध गराउने भएकी छिन् ।
प्रचारमा भन्दा नतिजामुखी र मौन कर्ममा विश्वास राख्ने राणाले आफ्ना दिवङ्गत पति प्रभु शमशेर जबराको स्मृतिलाई जीवन्त राख्न ‘प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठी’ मार्फत सामाजिक सेवाका अभियानलाई निरन्तरता दिँदै आएकी छन् । पतिको वियोगको पीडालाई समाजसेवाको शक्तिमा बदलेकी राणाले यसअघि पनि उदाहरणीय सामाजिक काम गरेकी छिन् ।
राणाले यसअघि बाराको जीतपुरसिमरा उपमहानगरपालिका-६ मा २० घरपरिवार मुसहर समुदायका लागि पूर्ण व्यवस्थित आवाससहितको बस्ती निर्माण गरिदिएकी थिइन् । यसैगरी युवा खेलाडीहरूलाई प्रोत्साहन गर्न करिब एक करोड २५ लाख रुपैयाँको लागतमा ‘प्रभुराजी एनजेजेवाईसी फुटबल एकेडेमी’ को सुविधासम्पन्न भवन निर्माण गरी खेलकुद क्षेत्रको पूर्वाधार विकासमा समेत योगदान दिएकी छन् ।
सार्वजनिक स्थलहरूमा सर्वसाधारणका लागि शुद्ध र चिसो पिउने पानीको व्यवस्था गरिदिएकी राणाले पछिल्लो पटक अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचियर र ट्राईसाइकल वितरण गर्नुका साथै विपन्न विद्यार्थीहरूलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेकी थिइन् ।







