रसुवा बाढी: नेपोभिट टायल्सका संचालक झाले गरे ११ लाख सहयोग

सिमरा: नेपोभिट टायल्सका संचालक एवम् उद्योगी शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसर पारेर रसुवाका बाढीपीडितका लागि ११ लाख रुपैयाँ सहयोग गरेका छन् । उद्योगी झाले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेका हुन् ।
देश प्राकृतिक विपत्तिको चपेटामा परेका बेला बाढीपीडितको राहत तथा पुनर्स्थापनामा सघाउ पुर्याउने उद्देश्यले सहयोग गरिएको उनकी पत्नी विभा झाले जानकारी दिइन् । बाढीका कारण कैयौं परिवार विस्थापित भई राष्ट्र नै शोकमा डुबेको अवस्थामा व्यक्तिगत उल्लासलाई छाडेर सामाजिक उत्तरदायित्व बहन गरिएको उनको भनाइ छ ।
विभाले सामाजिक सञ्जालमा लेखेकी छिन्`देश विपत्तिमा छ । बाढीको विभीषिकाले धेरै परिवारहरू विस्थापित भएका छन् र कयौंको जीवन अस्तव्यस्त बनेको छ । यस्तो दारुण समयमा देश र सम्पूर्ण व्यक्तिहरूसँग संवेदना अनि श्रद्धाका साथ उभिएका छौं । जन्मदिनको उल्लास मनाउन त सकिन्थ्यो, तर यस विशेष दिनलाई बाढी प्रभावित मानिसहरूको सहयोगसँग जोड्ने निर्णय गरेका छौं ।´
विपत्तिको घाउमा मलम लगाउने गरी झाद्वारा गरिएको सहयोगको उद्योगी, व्यवसायी र स्थानीयले उच्च प्रशंसा गरेका छन् । झाले बाराको जीतपुरसिमरा उपमहानगरपालिका-८ मा उद्योग स्थापना गरी नेपोभिट टायल्स उत्पादन गरिरहेका छन् ।







