बारा उद्योग वाणिज्य संघद्वारा बाढीपीडितका लागि राहत संकलन गर्न अपिल


eShilalekh

१४ भाद्र २०८३, आईतवार १३:५२

सिमराः बारा उद्योग वाणिज्य संघले विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई लक्षित गर्दै राहत संकलन तथा वितरण अभियानका लागि जिल्लाका उद्योगी, व्यवसायी एवं व्यापारीहरूलाई सहयोगको अपिल गरेको छ ।

संघका महासचिव रामअशिष साह कानुद्वारा जारी विज्ञप्तिमा बाढीबाट सिर्जित मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना गरिएको छ ।

संकटको यस घडीमा पीडितहरूको तत्काल पुनर्स्थापनाका लागि संघले पहिलो चरणमा करिब आठ सय बोरा राहत सामग्री वितरण गर्ने योजना अघि बढाएको छ । प्रतिबोरा करिब तीन सय पचास रुपैयाँ लागत अनुमान गरिएको उक्त राहत प्याकेजमा चिउरा, भुजा, चाउचाउ र बिस्कुट समावेश गरिनेछन् ।

यस मानवीय कार्यमा सहभागिता जनाउन संघले उद्योगी तथा व्यवसायीहरूलाई आफ्नो व्यावसायिक क्षमता र स्वेच्छा अनुसार एक वा दुई बोरा वा सोभन्दा बढी राहत सामग्री सहयोग स्वरूप प्रदान गर्न हार्दिक अनुरोध गरेको छ ।

विपद्को यस चुनौतीपूर्ण समयमा सामूहिक एकता र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्दै पीडितहरूप्रति ऐक्यबद्धता जनाउन संघले सबैपक्षलाई आह्वान गरेको छ । राहत वितरण तथा संकलन कार्यलाई व्यवस्थित र पारदर्शी रूपमा समन्वय गर्नका लागि संघले मोबाइल नम्बर ९८४५१२८३९६ र ९८२१२२७०३० मा सम्पर्क गर्न सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्