निजगढमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

निजगढ: पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका-९ स्थित बकैया पुल नजिकै शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका-११ का २४ वर्षीय अभिषेक चौधरी रहेका छन् ।
प्रहरीका अनुसार चौधरीले चलाएको ना४८प ५१११ नम्बरको मोटरसाइकल ना५ख ७८०५ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई वीरगन्जस्थित मेडिसिटी बयोधा अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीले जानकारी दिए ।
सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार सुदीप चौधरी र निशान्त चौधरी घाइते भएका छन् । घाइते दुवै जनाको हाल मेडिसिटी बयोधा अस्पतालमै उपचार भइरहेको छ ।







