बाराको कोल्हबीबाट १९ क्युफिट अवैध सालको काठ बरामद


eShilalekh

१६ भाद्र २०८३, मंगलवार १३:५७

सिमराः बाराको कोल्हबी नगरपालिका ४ लामपोईनीस्थित झाडीबाट प्रहरीले अवैध पाँच थान सालको गोलिया बरामद गरेको छ ।

प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले झाडीमा खोजतलास गर्दा उक्त काठ बरामद भएको कोल्हबी सब–डिभिजन वन कार्यालयका वन अधिकृत कृष्ण पटेलले जानकारी दिएका छन् ।

बरामद गरिएको १९ क्युफिट सालको गोलियाको बजार मूल्य करिब ४२ हजार रुपैयाँ बराबर रहेको छ ।

वन क्षेत्रबाट अवैध रूपमा कटान गरी चोरी निकासी गर्ने उद्देश्यले सो काठ झाडीमा लुकाएर राखिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । संयुक्त टोली घटनास्थलमा पुग्दा काठ लुकाउने व्यक्ति वा समूह भने फेला नपरेको प्रहरीले जनाएको छ ।

संलग्न व्यक्तिको पहिचान भएपछि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने डिभिजन वन कार्यालय बाराले जनाएको छ।

डिभिजन वन अधिकृत सुजितकुमार झाले वन क्षेत्रमा हुने अवैध कटान तथा चोरी निकासी नियन्त्रणका लागि हाल निगरानी र गस्ती तीव्र पारिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्