जनप्रतिनिधिको एक महिनाको सेवासुविधासहित महागढीमाई नगरपालिकाले साढे ४१ लाख सहयोग गर्ने

सिमराः बाराको महागढीमाई नगरपालिकाले रसुवाका बाढीप्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४१ लाख ५१ हजार रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । प्राकृतिक विपत्तिले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।
नगर प्रमुख उपेन्द्रप्रसाद यादवका अनुसार नगरपालिकाका ६० जना जनप्रतिनिधिहरूले आफ्नो एक महिनाको सेवासुविधा बापतको रकम कोषमा योगदान गर्नेछन् । यसैगरी नगरपालिकामा कार्यरत निजामती कर्मचारीहरूले नेपाल सरकारको निर्णय बमोजिम आफ्नो तलबबाट रकम उपलब्ध गराउनेछन् भने नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पाँच लाख थप गरी कुल ४१ लाख ५१ हजार रूपैयाँ कोषमा जम्मा गरिनेछ ।
नगर प्रमुख यादवले देश शोकमा डुबेको र ठूलो क्षति व्यहोरेको बेला सहयोग गर्नु सबैको मानवीय कर्तव्य रहेको बताए । उनले एकतावद्ध भएर सहयोग गर्ने जनप्रतिनिधि तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरे । यादवले प्राकृतिक विपत्तिको यस समयमा प्रभावितहरूको तत्काल उद्धार, राहत र पुनर्स्थापना नै प्राथमिक आवश्यकता भएको बताउँदै भविष्यमा यस्तो क्षति नहुने गरी दीर्घकालीन रूपमा सुरक्षित बसोबासको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
रसुवाका बाढीपीडितको सहयोगका लागि बाराका अन्य स्थानीय तहहरूले पनि सहयोगको घोषणा गरिरहेका छन् । हालसम्म जीतपुरसिमरा उपमहानगरपालिकाले ११ लाख, निजगढ नगरपालिकाले पाँच लाख र सुवर्ण गाउँपालिकाले चार लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।







