महोत्तरीमा दुई करोड भन्दा बढी मूल्यको अवैध एप्पल एयरपोड्स बरामद

सिमराः सशस्त्र प्रहरीले महोत्तरीमा दुई करोड भन्दा बढी मूल्य बराबरको एप्पल कम्पनीको एयरपोड्स बरामद गरेको छ ।
सशस्त्र प्रहरीले सोनमा गाउँपालिका ६ मगरथानाबाट शनिबार बिहान करिब दुई करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीको एयरपोड्स बरामद गरेको हो ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको १२ सय थान एयर वर्डस सशस्त्र प्रहरीको ९ नम्बर गण, रघुनाथपुर सीमा सुरक्षा गुल्म र खैरनी बोर्डर आउट पोष्टले संयुक्त रुपमा बरामद गरेको सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
उक्त एयरपोड्स ल्याउने व्यक्ति सशस्त्र प्रहरीको गस्ती टोली देख्ना साथ फरार भएका बताइएको छ । बरामद एयरपोड्स आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको थापाले बताएका छन् ।







