आज विश्वकर्मा पूजा: कलकारखाना र औजारको पूजा गरिँदै, यस्तो छ धार्मिक मान्यता

सिमराः कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज देशभरका कालिगडहरूले भगवान् विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाइरहेका छन् । यस अवसरमा विभिन्न कलकारखाना, ग्यारेज र उद्योगहरूमा विश्वकर्माको मूर्ति वा तस्वीर स्थापना गरेर विधिपूर्वक पूजाआजा गरिँदै छ।
आजको दिन पथलैया-वीरगन्ज औद्योगिक करिडोरका कलकारखानाहरूलाई बत्ती र फूलमालाले विशेष रूपमा सजाइएको छ भने मजदुरहरू उत्साहका साथ पूजामा सहभागी भईरहेका छन् । आज स्थापना गरी पूजा गरिएका मूर्तिहरूलाई बागमतीलगायतका नदीहरूमा लगेर विसर्जन गर्ने गरिन्छ ।
आजका दिन आफूले प्रयोग गर्ने औजार, मेसिन र सवारी साधनको पूजा गर्ने गर्ने प्रचलन छ । यसो गर्दा औजारहरू धेरै समयसम्म टिक्ने, काम गर्दा नबिग्रने र राम्रोसँग काम गर्न सकिने धार्मिक विश्वास रहेको छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेर लुकाएका थिए । त्यही समयदेखि विश्वकर्मालाई एक सफल र कुशल वास्तुविद्का रूपमा मानेर पूजा गर्ने परम्परा चलेको हो ।







