फागुनमा स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी

सिमराः निर्वाचन आयोगले आगामी फागुन महिनामा स्थानीय तहको चुनाव गराउने गरी आफ्नो तयारी सुरु गरेको छ । २०७९ सालको वैशाखमा चुनिएका जनप्रतिनिधिहरूको कार्यकाल सकिनुभन्दा दुई महिना अगाडि नै चुनाव गराउने योजनामा आयोग लागेको हो ।
निर्वाचन आयोगका आयुक्त डा. राजीब सुब्बाका अनुसार कानुनमा गाउँ र नगर सभाको कार्यकाल सकिनुभन्दा दुई महिना अघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था रहेकाले सोहीअनुसार तयारी अघि बढाइएको हो । यसअघि २०७९ साल वैशाख ३० गते स्थानीय तहको चुनाव भएको थियो ।
यसपटकको निर्वाचनमा आयोगले नयाँ र सुविधाजनक व्यवस्था पनि ल्याउने प्रयास गरिरहेको छ । आफ्नो जिल्लाबाहिर रहेका मतदाताहरूले पनि सहजै भोट हाल्न पाऊन् भनेर अन्तरजिल्ला मतदानको व्यवस्था गर्न लागिएको छ । सुरुमा केही निश्चित जिल्ला र क्षेत्रहरूबाट यो व्यवस्था प्रयोगमा ल्याउने आयोगको योजना छ ।
यसका साथै आयोगले अबका निर्वाचनहरूलाई प्रविधिसँग जोड्दै विद्युतीय मतदान (इ-भोटिङ) प्रणालीबाट गराउने तयारी गरिरहेको छ ।आयुक्त सुब्बाले विदेशमा रहेका नेपालीहरुका लागि पनि दूताबास वा नियोगहरुमा अनलाइन भोटिङबाट संम्भव नहुँदासम्म इ-भोटिङ प्रणालीबाट मतदान गराउने गरी आयोग तयारीमा जुटेको बताएका छन् ।
संविधानमा स्थानीय तहको कार्यकाल पाँच वर्षको हुने र कार्यकाल सकिएको छ महिनाभित्र अर्को चुनाव गरिसक्नुपर्ने व्यवस्था भए पनि आयोगले समयमै चुनाव सम्पन्न गराउन अहिलेदेखि नै काम थालेको हो ।







