आज संविधान दिवस, देशभर उल्लासका साथ मनाईंदै


eShilalekh

३ आश्विन २०८३, शनिबार ०९:०१

सिमराः आज असोज ३ गते, देशभर हर्षोल्लासका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै छ । २०७२ साल असोज ३ गते संविधान सभाबाट ‘नेपालको संविधान’ जारी भएको आज ११ वर्ष पूरा भएको छ ।

तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट संविधान जारी भएको ऐतिहासिक घोषणा गरेका थिए । त्यसै दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई विशेष राष्ट्रिय पर्वका रूपमा मनाउने गरिन्छ ।

यो संविधान नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलका रुपमा लिने गरिएको छ । २००७ सालदेखि सुरु भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका साथै उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले गरेका विभिन्न आन्दोलनको जगमा यो सफलता मिलेको हो ।

यिनै आन्दोलनहरूको योगफलका रूपमा नेपालमा पहिलोपटक जनताका प्रतिनिधिहरूमार्फत गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी तथा समानुपातिक प्रणालीसहितको नयाँ संविधान निर्माण भई लागू भएको थियो ।

दिवसका अवसरमा आज (शनिबार) संघ, प्रदेश र स्थानीय सरकारले देशका विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । आम नागरिकहरूले पनि घरघरमा दीप प्रज्वलन गरेर र राष्ट्रिय झण्डा फहराएर खुसीयाली मनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्