‘ज्वाइँ राजा’ नामले चर्चित जङ्गली हात्ती ‘रोनाल्डो’ मृत भेटियो

सिमराः ‘ज्वाइँ राजा’ हात्तीका रूपमा चिनिएको ५३ वर्षीय हात्ती ‘रोनाल्डो’ शनिबार बिहान मृत अवस्थामा भेटिएको छ । मध्यवर्ती क्षेत्रको बरण्डाभार वन, बीस हजारी ताल र कुमाल ताल आसपासको क्षेत्रमा हात्ती मृत भेटिएको हो ।
हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार बिजुलीको पोल ढलेर करेन्ट लागेका कारण हात्तीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले भने मृत्युको यकिन कारण थाहा पाउन थप अध्ययन र अनुसन्धान भइरहेको जनाएको छ ।
सन् २००२ (करिब २४ वर्ष) देखि सौराहा क्षेत्रमा देखिन थालेको यो हात्ती निकै फुर्तिलो र आक्रामक स्वभावको थियो । त्यो बेला फुटबल विश्वकपको माहोल रहेको र ब्राजिलका प्रख्यात खेलाडी रोनाल्डो चर्चामा रहेकाले हात्ती सुसारे तथा स्थानीय गाइडहरूले यसको नाम ‘रोनाल्डो’ राखिदिएका थिए ।
रोनाल्डोलाई खोरसोर प्रजनन केन्द्रका पोथी हात्तीहरूको मुख्य जोडी मानिन्थ्यो । प्रजनन केन्द्रमा मात्रै यो हात्तीबाट ३३ देखि ३८ वटा छावाहरू जन्मिएका छन् ।
रोनाल्डोले स्थानीय बासिन्दा र हात्ती सुसारेहरूमाथि आक्रमण पनि गर्दै आएको थियो । निकुञ्जका अनुसार रोनाल्डोको आक्रमणबाट हालसम्म १५ जनाको ज्यान गइसकेको छ ।
रोनाल्डोको मृत्युले हात्ती संरक्षणको क्षेत्रमा ठूलो र अपूरणीय क्षति पुगेको संरक्षणकर्मीहरूको भनाइ छ ।







