पर्सामा १७ लाखभन्दा बढीको भन्सार छलीका मोबाइल पार्टस् र कपडा बरामद

वीरगञ्जः पर्सामा सशस्त्र प्रहरीले भन्सार छलीका तथा लुकाएर राखिएका करिब १७ लाख ५६ हजार ९९० बराबरका रुपैयाँ बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ ।
नियमित गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले जिल्लाका विभिन्न स्थानबाट उक्त परिमाणका अवैध सामान नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार वीरगंज महानगरपालिका १ नैकाटोलाबाट भारतबाट भन्सार छली ल्याइएको ६ लाख ९८ हजार ४५० रुपैयाँ बराबरको मोबाइल पार्टस् बरामद गरिएको छ भने प्रहरी टोलीलाई देख्नासाथ सामान छाडेर दुई जना व्यक्ति फरार भएका छन् ।
यसैगरी पकाहामैनपुर गाउँपालिका ५ सबैठवास्थित एक गोठमा लुकाएर राखिएको अवस्थामा १० लाख ५८ हजार ५४० रुपैयाँ बराबरको कपडा पनि बरामद गरिएको छ ।
बरामद गरिएका दुवै स्थानका सम्पूर्ण सामानहरू थप आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जनाएका छन् ।







