सिमरामा असोज दोस्रो साता अन्तर्राष्ट्रिय महिला फूटबल


eShilalekh

३ आश्विन २०८३, शनिबार १६:११

सिमराः असोज दोस्रो सातादेखि सिमरा रंगशालामा ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फूटलब प्रतियोगिता’ हुने भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा असोज १० गतेदेखि १७ गतेसम्म प्रतियोगितामा हुन लागेको हो ।

सिमरा रंगशालामा रात्री समयमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ वटा महिला फूटबल टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल एपीएफ क्लब, त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब, फेयर फुटबल क्लब धरान, बसन्तपुर युनाइटेड क्लब चितवन, दार्जिलिङको कुर्सेङ गोल्स फुटबल क्लब, झारखण्ड स्टेट स्पोर्टस् प्रमोशन सोसाइटी र आयोजक सिमरा भेट्रान क्लबले सहभागिता जनाउनेछन् ।

एपीएफ प्रतियोगिताको साविक विजेता हो । अघिल्लो वर्ष एपीएफले आर्मीलाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो । यसपटक भारतका दुईसहित आठ वटा टोलीले प्रतियोगितामा सहभागिता जनाउने संयोजक हरि चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार प्रतियोगिताको विजेताले पाँच लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख पाउनेछन् भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १० हजार नगदसहित पुरस्कृत गरिनेछ । प्रतियोगिता अवधिभरको इमर्जिङ प्लेयर र प्रत्येक दिनको प्लेयर अफ दि म्याचलाई पाँच हजार नगदले पुरस्कृत गरिने संयोजक चौधरीले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा हुन लागेको प्रतियोगितालाई यसपटक एक्स्ट्रिम इनर्जी ड्रिंक्सले मुख्य प्रायोजन गर्ने भएको छ । प्रतियोगितामा नेपाल ल्युब आयल, हुलास स्टील र नेपोभिट टायल्सले सहप्रायोजन गर्नेछन् भने बारा जिल्ला फुटबल संघ, नव जनजागृति युवा क्लब, नव जनजागृति भेट्रान क्लब, युआर अटोमेटिक लण्ड्री, केआईईसी सिमरा, सलिको इन्स्योरेन्सको प्राविधिक सहयोग रहनेछ ।

प्रतियोगिता संयोजक चौधरीले दर्शकको उत्साहजनक सहभागिताकाबीच अघिल्लो वर्षको संस्करण सम्पन्न भएको बताउँदै यस वर्षपनि दर्शकको उत्तिकै साथ र सहयोग रहने अपेक्षा गरिएको बताएका छन् । चौधरीले प्रतियोगिता अन्तर्गतको पहिलो चार खेलको ५० रुपैयाँ, सेमिफाइनलको एक सय रुपैयाँ र फाइनलको दुई सय रुपैयाँ टिकट निर्धारण गरिएको जानकारी दिए । आयोजकले टिकटबाट संकलित रकमको १० प्रतिशत रकम रसुवा बाढी प्रभावितको पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । खेल अवधिभरमा बिक्री भएका टिकटबाट संकलन भएको रकमको १० प्रतिशत प्रधानमन्त्री कोषमा जम्मा गरिने संयोजक चौधरीले बताए ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय आमन्त्रण महिला फूटबल प्रतियोगितालाई जीतपुरसिमराकै गौरवको रुपमा लिनुपर्ने धारणा राखे । महिलाको सशक्तीकरण, आत्मबल र स्वास्थ्य विकासकासँग जोडिने भएकाले यस्तो प्रतियोगितालाई उपमहानगरले प्राथमिकता दिएको अधिकारीले बताए ।

‘महिला खेलाडीको सहभागिता रहने यो प्रतियोगितालाई सामान्य रुपमा बुझ्नुहुँदैन । यस प्रतियोगिताले समाजमा विभिन्न किसिमा सकारात्मक सन्देश दिईरहेको हुन्छ’ उपप्रमुख अधिकारीले भने ‘यसले सिंगो उपमहानगरकै गौरव बढाईरहेको हुन्छ । त्यसैले यो प्रतियोगिता निकै अर्थपूर्ण छ ।’

चालु आर्थिक वर्षको बजेट विनियोजन गर्दा यस प्रतियोगितालाई प्राथमिकता दिएर आफूले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको भएपनि नगर प्रमुखले प्रमाणीकरण गर्दा १० लाखमा झारिएको भन्दै अधिकारीले पत्रकार सम्मेलनमै दुःख व्यक्त गरे । ‘प्रतियोगिताको महत्व बुझेर विनियोजन गरिएको बजेट अन्तिममा पारित हुँदा परिवर्तन भईसक्छ । तर बजेट बनाउने अधिकार पाएको उपप्रमुखलाई थाहा हुँदैन’ अधिकारीले दुखेसो गर्दै भने ‘यस प्रतियोगितमा पनि यस्तै भएको छ । प्रतियोगिताको महत्वनै नबुझेर बजेट कटौती गर्ने काम गरिएको पाइयो ।’ समग्र उपमहानगरकै प्रतिष्ठासँग जोडिएको प्रतियोगितालाई गम्भीरतापूर्वक लिनुपर्ने अधिकारीको भनाई थियो ।

पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिका-१४ की वडाध्यक्ष चयन गुरुङले यस प्रतियोगितालाई केवल खेलकुद र हारजितसँग मात्रै जोडेर हेर्न नहुने बताइन् । उनले यो प्रतियोगिता सिंगो महिला सशक्तीकरणको मूल आधार, छोरीचेलीहरूको आत्मबल र मनोबल बढाउने माध्यम तथा उनीहरूको शारीरिक एवम् मानसिक स्वास्थ्य विकासका लागि अति उपयोगी अवसर भएको उल्लेख गरिन् । उनले यस्तो प्रतियोगितालाई सफल बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँले, सिमरा भेट्रान क्लबका सल्लाहकार हिरा बस्नेतलगायतले बोल्दै प्रतियोगिताको महत्वबारे प्रकाश पारेका थिए । सिमरा भेट्रानका अध्यक्ष विजय राउतको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक्स मधेस प्रदेशका सेल्स मेनेजर दिपेश न्यौपाने, नव जनजागृति युवा क्लबका उपाध्यक्ष शंकर थापा, युवा व्यवसायी अलि अख्तर आलम, आरिफ हुसेनलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्