बारामा ७ लाखभन्दा बढीको अवैध सामान तथा सवारीसाधन बरामद

सिमराः सशस्त्र प्रहरीले बाराको विश्रामपुर गाउँपालिका १ कल्याणपुरस्थित सीमा क्षेत्रबाट आइतबार भन्सार छलीका अवैध सामान तथा सवारीसाधन बरामद गरेको छ । भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) बरैनियाबाट खटिएको गस्ती टोलीले कुरकुरे, सुर्ती, जुत्ता र लत्ता, कपडालगायतका विभिन्न किसिमका सामानहरू नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर बाराका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीका अनुसार सोही क्रममा तस्करले प्रयोग गरेका दुई थान साइकल, एक थान मोटरसाइकल र एक थान स्कुटरसमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद गरिएका सम्पूर्ण सामान तथा सवारीसाधनको कुल अन्दाजी मूल्य सात लाख ९५ हजार पाँच सय रुपैयाँ रहेको छ । पक्राउ परेका अवैध सामान तथा सवारीसाधनहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।







