पर्सामा ३३ किलो लागूऔषध गाँजासहित तीन जना पक्राउ, प्रहरीद्वारा दुई राउन्ड हवाई फायर

सिमराः पर्साको पटेर्वासुगौली गाउँपालिका १ मलाही टोलमा प्रहरीले आइतबार राति करिब ३३ किलो अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीय भुटी सहनी रहेका छन्।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको विशेष टोलीले अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर मल्लका अनुसार कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने क्रममा उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर समेत गर्नुपरेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा भुटी सहनीको समेत घटनामा संलग्नता रहेको खुलेएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट बरामद गरिएको लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ भने यस घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने आशङ्कामा थप अनुसन्धान तीव्र पारिएको छ।







