दुई सुत्केरीको मृत्युको घटनापछि सिडिओले मन्त्रालयलाई छानविनका लागि लेखे पत्र

सप्तरीः सप्तरीको धर्मेश्वर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराइएका दुई महिलाको मृत्यु भएको घटनापछि जिल्ला प्रशासन कार्यालयले छानबिनका लागि मन्त्रालयसँग आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मधेस सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै अस्पतालको सेवा, अनुमति, पूर्वाधार, विशेषज्ञ जनशक्ति तथा उपचार प्रक्रियाबारे विस्तृत अध्ययन गर्न अनुरोध गरिएको हो ।
लगातार सुत्केरी महिलाहरूको मृत्यु भएपछि अस्पतालले प्रसूति तथा शल्यक्रिया सेवा सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गरे/नगरेको विषयमा गम्भीर प्रश्न उठेको प्रशासनको भनाइ छ ।
प्रशासनका अनुसार गत भदौ १६ गते प्रसूति व्यथा लागेर धर्मेश्वर हस्पिटल भर्ना भएकी सप्तकोशी नगरपालिका-११ कि २८ वर्षीया पुष्पा खड्गाको शल्यक्रियापछि अवस्था गम्भीर बनेको थियो । थप उपचारका लागि अन्यत्र रेफर गरिएकी पुष्पाको सोही दिन मृत्यु भएको थियो ।
यसैगरी असोज १ गते अस्पताल भर्ना भएकी अग्निसाइर कृष्णासवरण गाउँपालिका-५ कि २८ वर्षीया निर्मला चौधरीको पनि शल्यक्रियापश्चात् अवस्था जटिल बनेपछि अर्को अस्पताल रेफर गरिएकोमा उपचारका क्रममा असोज ४ गते निधन भएको थियो ।
लगातार भएका घटनामा अस्पतालको कमीकमजोरी रहे/नरहेको र मृत्युको वास्तविक कारण के हो भन्ने स्पष्ट पार्न प्रशासनले प्रदेश मन्त्रालयलाई आग्रह गरेको हो ।







