सिरहाबाट १३ लाखभन्दा बढीको अवैध सामान बरामद

सिरहाः सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १३ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार सीमा नाकाबाट अवैध रूपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कुल १३ लाख ३५ हजार दुई सय ५१ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो ।
सामग्रीहरूमा लत्ताकपडा, मोटरसाइकल, किराना सामग्री, सुर्तीजन्य पदार्थ, कस्मेटिक सामग्री, जुत्ता, खेलौना, हार्डवेयरका सामान, पेय पदार्थ, मदिरा तथा इन्धनलगायतका सामानहरु रहेका छन् ।
बरामद गरिएका सम्पूर्ण सामानहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सिरहा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।







