रौतहटमा ५० लाखभन्दा बढीका अवैध मोबाइलका स्पेयर पार्टस बरामद

रौतहट: सशस्त्र प्रहरीले रौतहटको गौर नगरपालिका–४ टिकुलियाबाट ठूलो परिमाणमा अवैध रुपमा राखिएका मोबाइलको स्पेयर पार्टस बरामद गरेको छ।
स्थानीय भोला साहको घरमा बुधबार छापा मारेर प्रहरीले करिब ५० लाख १४ हजार ५०० रुपैयाँ बराबरको मोबाइल सामग्री र तीन थान मोटरसाइकल बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) चेतराज जोशीको नेतृत्वमा र गौर भन्सार कार्यालयका प्रतिनिधिको संयुक्त टोली साहको घर पुगेको थियो। घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ठूलो परिमाणमा मोबाइलका सामानहरू फेला परेका थिए।
बरामद गरिएका सबै मोबाइलका स्पेयर पार्टस र तीन थान मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुन बमोजिमको कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।







