मधेशमा भारी वर्षा र डुबानको जोखिम, सतर्कता अपनाउन प्रशासनको अपील

सिमराः जिल्ला प्रशासन कार्यालय बारा लगायत मधेश प्रदेशका विभिन्न प्रशासन कार्यालयहरूले नागरिकहरूलाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेका छन् ।
असोज ९ गतेदेखि ११ गतेसम्म देशका अधिकांश स्थानसहित मधेश प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै कार्यालयहरूले सूचना जारी गरेको हो। तराई तथा सहरी क्षेत्रमा हुन सक्ने डुबान, बाढी र सडक अवरोध जस्ता जोखिमप्रति सजग रहन प्रशासनले आग्रह गरेको छ ।
यस अवधिमा अत्यावश्यक कामबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र खोला तथा नदी किनारका तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ ।
सूचनामा बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा राख्नका साथै आवश्यक खाद्यान्न तथा आपतकालीन सामग्रीको पूर्वभण्डारण गर्न आग्रह गरिएको छ ।
साथै विपद्को समयमा तत्काल खबर गर्नका लागि निम्न आपतकालीन नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरिएको छ:
- राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र: ११५५
- जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र: १२३४
- नेपाल प्रहरी: १००
- सशस्त्र प्रहरी बल: १११४
बारा प्रशासनले विपद् प्रतिकार्यका लागि स्थानीय तहका फोकल पर्सनहरूलाई २४ सै घण्टा अलर्ट रहन, स्वास्थ्य संस्था तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न र विषयगत टोलीहरूलाई परिचालनका लागि तयारी रहन निर्देशनसमेत दिएको छ ।







