देवताल गाउँपालिका-३ का वडाध्यक्ष कुशवाहाको निधन

सिमराः बाराको देवताल गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष रामकिशोर प्रसाद कुशवाहाको बुधबार निधन भएको छ । मस्तिष्कघात (स्ट्रोक) भएपछि वीरगन्जस्थित न्यूरो अस्पताल भर्ना गरिएका कुशवाहाको उपचारका क्रममा निधन भएको हो ।
कुशवाहालाई तीन दिनअघि मस्तिष्कघात भएको थियो । त्यसलगत्तै भर्ना गरिएका कुशवाहाको सफल शल्यक्रिया समेत भएको थियो । शल्यक्रियापछि अस्पतालमै उपचाररत रहेका कुशवाहाको निधन भएको हो ।
कुशवाहा २०७९ सालको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी वीरगन्जस्थित न्यूरो अस्पतालमा रहेका बेला जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले समेत अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
कुशवाहाको बिहीबार अन्तिम संस्कार गरिने भएको छ ।







