कांग्रेस जीतपुरसिमराको निर्वाचन कार्यतालिका: आज मनोनयन, भोलि मतदान

सिमराः नेपाली कांग्रेसको जीतपुरसिमरा उपमहानगर समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ । निर्वाचन सम्पन्न गराउन अधिवक्ता सूर्यजीत सिंहको संयोजकत्वमा गठित समितिले बिहीबार साँझदेखि निर्वाचन प्रक्रिया सुरु गरेको हो ।
समितिले निर्वाचनका सबै कार्यक्रम एकै दिन र भोलिपल्ट मतदान हुने गरी कार्यतालिका तय गरेको छ । कार्यतालिका अनुसार बिहीबार साँझदेखि नै मतदाता नामावली प्रकाशन, दाबी विरोध, छानबिन र अन्तिम नामावली प्रकाशनका कामहरू अघि बढेका छन् । त्यसैगरी उम्मेदवारी मनोनयन दर्ता, नामावलीमाथिको छानबिन र उम्मेदवारी फिर्ताको समय पनि बिहीबार रातिनै तय गरिएको छ।
सबै प्रक्रिया पूरा गरी राति ११:१५ बजेपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ । मतदान भने शुक्रबार बिहान ११:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म हुने भएको छ। मतदानका लागि राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको परिसरलाई स्थल तोकिएको छ । अधिवेशनको उद्घाटन र बन्दसत्र सोही स्थानमा भएको थियो ।
अधिवेशनको बन्दसत्रमा सहमति जुट्न नसकेपछि अन्त्यमा मतदानबाटै नेतृत्व छानिने पक्का भएको हो । नगर अध्यक्षका लागि वर्तमान सभापति छविलाल शर्मा र अर्का आकांक्षी रमेश पण्डित दुवैले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् । निर्वाचनमा कूल ५ सय ८३ जना प्रतिनिधिहरूले मतदानमा भाग लिँदैछन् ।








