बाराः मोटर जडान गरिएको धाराबाट पानी पिउने क्रममा एकको मृत्यु

सिमराः मोटर जडान गरिएको धाराबाट पानी पिउने क्रममा करेन्ट लागेर बारामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महानगढीमाई नगरपालिका-८ का बेतौनाका २५ वर्षीय राजु देवान रहेका छन् ।
देवानले पचरौता नगरपालिका-८ बाझोपट्टीका दुर्गाप्रसाद यादवको घरमा मोटर जडान गरिएको धाराबाट पानी पिउँदै गरेका थिए । सोही बेला देवानलाई करेन्ट लागेको हो ।
घटनालगत्तै देवानलाई कलैयास्थित प्रादेशिक अस्पताल ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । मृतकको शव आइतबार परिवारले बुझेका छन् ।







