मधेसका आठ जिल्लाका ट्राफिक प्रमुखहरूसँग कार्यसम्पादन करार सम्झौता


eShilalekh

१३ आश्विन २०८३, मंगलवार १८:११

सिमराः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेस प्रदेशका प्रमुख एवम् ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले मातहतका आठवटै जिल्लाका ट्राफिक प्रमुखहरूसँग मंगलबार वार्षिक कार्यसम्पादन करार सम्झौता गरेका छन् । पथलैयास्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख बस्नेत र जिल्लाका ट्राफिक प्रहरी निरीक्षकहरूबीच आर्थिक वर्ष २०८३/८४ को सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका प्रमुखहरूसँग ट्राफिक प्रहरीको दायित्व र भूमिकालाई अझ बढी प्रभावकारी, पारदर्शी तथा जनमुखी बनाउने प्रतिबद्धतासहित सम्झौता गरेका हुन् । सम्झौतापत्रमा शासकीय सुधार, शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा सडकमा प्रभावकारी ट्राफिक व्यवस्थापनका विषयलाई प्राथमिकता दिइएको छ ।

कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले गत आर्थिक वर्षको लक्ष्य तथा प्रगतिहरूको समिक्षा गर्दै नयाँ आर्थिक वर्षका लागि सुम्पिएको जिम्मेवारी थप कुशलताका साथ पूरा गर्न निर्देशन दिएका थिए । ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले जिम्मेवार, अनुशासित र उत्तरदायी भएर सम्झौताका शर्त र प्रतिबद्धताहरूलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा मधेस प्रदेश कार्यालयका प्रवक्ता एवम् ट्राफिक प्रहरी नायब उपरीक्षक नवराज न्यौपाने, प्रदेश कार्यालयका ट्राफिक प्रहरी निरीक्षक रमेश राई, बाराका ट्राफिक प्रहरी निरीक्षक हरि भट्टराई, पर्साका दीपेन्द्र श्रेष्ठ, रौतहटका राजेन्द्र थापा मगर, सर्लाहीका झलक शर्मा, महोत्तरीका बाबुराम कार्की, धनुषाका खगेन्द्र दाहाल, सिरहाका नवीन मरासैनी र सप्तरीका उमेशमान अमात्यको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्