धनुषामा टिपर अनलोड गर्ने क्रममा पल्टिँदा एक जनाको मृत्यु, चालक घाइते


eShilalekh

१५ आश्विन २०८३, बिहीबार १३:०३

धनुषा: धनषाको मिथिला नगरपालिकास्थित एक क्रसर उद्योगमा बालुवा-गिट्टी अनलोड गर्ने क्रममा टिपर पल्टिँदा पुरिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिथिला नगरपालिका-३ लालभित्तिस्थित औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक रामसागर महतोका ३६ वर्षीय छोरा हरि महतो रहेका छन् ।

बिहीबार बिहान करिब ७ः२० बजे प्रदेश २-०२-००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा-गिट्टी खन्याउने क्रममा दुर्घटना भएको हो । दुर्घटना गम्भीर घाइते भएका हरिलाई उद्योगभित्रै रहेको जेसीबीको सहयोगले तत्काल उद्धार गरी उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया पठाइएको थियो ।

उपचारकै क्रममा बिहान १०ः२० बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन् ।

सोही दुर्घटनामा परी टिपर चालक गणेशमान चारनाथ नगरपालिका-६, गोदारका करिब ३० वर्षीय हरि ब. विश्वकर्मा पनि घाइते भएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्