पर्सामा दलित प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण

वीरगन्ज: पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर १ गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई एक परोपकारी संस्थाले विद्यालय पोशाक सहयोग गरेको छ।
बिहीबार विद्यालय परिसरमै एक कार्यक्रमको आयोजना गरी होसेक प्रतिष्ठान नेपाल नामक संस्थाले विद्यालयमा अध्ययनरत एक सय १२ जना बालबालिकाहरुलाई एक-एक थान टिसर्ट र पाइन्ट वितरण गरेको हो।
विद्यालयका प्रधानाध्यापक अकलेस जयसवालका अनुसार अभिभावकहरूको सक्रिय उपस्थितिमा बालबालिकाहरुलाई उक्त कपडा हस्तान्तरण गरिएको हो।
वितरण कार्यक्रममा होसेक प्रतिष्ठानका प्रतिनिधिहरू कैलाश लामा र जेनी कार्की लगायत विद्यालयका शिक्षक, शिक्षिका र अभिभावकहरूको सहभागिता रहेको प्रधानाध्यापक जयसवालले जानकारी दिएका छन्।







