जीतपुरसिमरामा वडास्तरीय योजना वडाबाटै सञ्चालन हुने, प्रमुख प्रशासकीय अधिकृत निरौलाले दिए अख्तियारी


eShilalekh

१७ आश्विन २०८३, शनिबार १३:२१

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाले चालु आर्थिक वर्षको वडा स्तरका सबै योजना सञ्चालन तथा भुक्तानीको अधिकार सम्बन्धित वडा सचिवहरूलाई नै प्रत्यायोजन गरेका छन् । निरौलाले उपमहानगरभित्रका २४ वटै वडाका सचिवहरूलाई योजना सम्झौतादेखि अन्तिम भुक्तानीसम्मको अधिकार सुम्पिएका हुन् ।

उपमहानगरपालिकाले पहिलो पटक यसरी वडास्तरका योजनाका सम्पूर्ण अधिकार वडातहमै पठाएको हो । निरौलाले अख्तियारी दिएसँगै २४ वटा वडाका लागि छुट्ट्याइएको २८ करोड ५० लाख ३८ हजार एक सय ४७ रुपैयाँ बराबरका वडास्तरीय योजनाहरूको कार्यान्वयनको जिम्मेवारी वडा सचिव र प्राविधिकहरूको काँधमा पुगेको छ। अब वडा स्तरका योजनाको सम्झौता, कार्यादेश र भुक्तानीका सबै प्रक्रिया वडा कार्यालयबाटै सम्पादन हुनेछन् ।

यसअघि वडा तथा नगर स्तरीय सबै योजनाहरूको सम्झौता, कार्यादेश र भुक्तानीका प्रक्रियाहरू उपमहानगरपालिकाको जीतपुरस्थित कार्यपालिकाको कार्यालयबाट हुँदै आएका थिए । सबै योजनाका काम एकै ठाउँबाट गर्दा कार्यालयमा अत्यधिक भिड हुनुका साथै समयमै योजना कार्यान्वयन गर्न चुनौती थपिने गरेको थियो । अब भने वडा स्तरका योजनाको सम्पूर्ण अधिकार वडामै पुगेकाले तोकिएको समयमै योजना सम्पन्न हुने र सेवाग्राहीले भुक्तानीका लागि नगर कार्यालय धाइरहनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

विकेन्द्रीकरणको यस कदमले वडा कार्यालयहरूलाई प्रशासनिक र वित्तीय रूपमा बलियो, जिम्मेवार र जनताप्रति थप जवाफदेही बनाउनुका साथै नगर स्तरीय ठूला आयोजनाहरूमा ध्यान केन्द्रित गर्न मद्दत पुर्‍याउने प्रमुख प्रशासकीय अधिकृत निरौलाको भनाइ छ। मातहतका कर्मचारीलाई सक्षम र जिम्मेवार बनाएर नतिजामुखी सेवा प्रवाह गर्ने निरौलाको यो कदमलाई वडाध्यक्ष तथा सेवाग्राहीहरूले स्वागत गरेका छन्।

निर्णय जनमुखी र प्रशंसायोग्य भए पनि पर्याप्त र दक्ष जनशक्तिको अभावका कारण कार्यान्वयनमा समस्या आउन सक्ने चिन्ता जनप्रतिनिधिहरूले व्यक्त गरेका छन् । जीतपुरसिमरा वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठका अनुसार उपमहानगरपालिकाका वडा कार्यालयहरूमा अधिकृत स्तरका वडा सचिव हुनुपर्ने प्रावधान भए पनि अधिकांश वडामा अधिकृत स्तरका कर्मचारी छैनन् र कतिपय वडामा अमिनलाई वडा सचिवको जिम्मेवारी दिइएको छ । त्यसैगरी वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङ र वडा नं. ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले पनि अधिकार हस्तान्तरण सकारात्मक भए पनि वडा तहमा लेखा र प्राविधिकतर्फका कर्मचारी थप नगरिएसम्म काम गर्न चुनौती रहने प्रतिक्रिया दिएका छन् ।

उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले भने नगरसभाको निर्णय कार्यान्वयनका लागि हाल उपलब्ध जनशक्तिलाई नै प्रशिक्षण दिएर सेवा सुरु गर्न लागिएको बताएका छन् । थप कर्मचारीको व्यवस्थापनका लागि प्रदेश लोकसेवा आयोगसँग माग भइसकेको र आइपर्ने चुनौतीहरूको सामना गर्दै अघि बढ्ने पौडेलले बताए ।

अधिकार हस्तान्तरणसँगै कार्यसम्पादनलाई व्यवस्थित बनाउन उपमहानगरपालिकाले वडा सचिवहरूका लागि शनिबारदेखि सार्वजनिक खरिद र स्थानीय वित्त व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धिको लागि तालिमको आयोजना गरेको छ । आर्थिक प्रशासन महाशाखाका उपसचिव हरिशंकार प्रसाद कुर्मी, प्रशासन महाशाखाका उपसचिव उमेश वाग्ले र पूर्वाधार विकास महाशाखाका उपसचिव अभयकान्त झाले तालिममा सहजीकरण गर्नेछन् ।

तालिमले वडाका कर्मचारीहरूलाई कानुनी र प्राविधिक रूपमा सक्षम बनाई योजना कार्यान्वयनमा आउन सक्ने जटिलता समाधान गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

यस्तो छ वडागत बजेट विवरण:

  • वडा नं. १: रु. १,८२,७४,०००
  • वडा नं. २: रु. १,४४,६३,८००
  • वडा नं. ३: रु. १,०१,१७,८४७
  • वडा नं. ४: रु. १,१०,७५,०००
  • वडा नं. ५: रु. १,०६,८५,२००
  • वडा नं. ६: रु. ८२,४०,५५५
  • वडा नं. ७: रु. १,२८,५६,०३२
  • वडा नं. ८: रु. १,२२,६७,२६५
  • वडा नं. ९: रु. १,०७,१८,२६७
  • वडा नं. १०: रु. ९६,५३,४००
  • वडा नं. ११: रु. १,०८,५१,९५६
  • वडा नं. १२: रु. १,१०,३९,४००
  • वडा नं. १३: रु. ९०,३०,९०५
  • वडा नं. १४: रु. १,१२,८९,०९०
  • वडा नं. १५: रु. १,१०,२१,७२०
  • वडा नं. १६: रु. १,४०,२३,०००
  • वडा नं. १७: रु. १,१८,१२,७००
  • वडा नं. १८: रु. १,१६,३३,०००
  • वडा नं. १९: रु. १,०९,३६,३२०
  • वडा नं. २०: रु. १,२१,५७,०००
  • वडा नं. २१: रु. १,३०,५२,०००
  • वडा नं. २२: रु. १,४४,८७,३९०
  • वडा नं. २३: रु. १,०५,३०,८००
  • वडा नं. २४: रु. ८८,७६,५००

प्रतिक्रिया दिनुहोस्