रौतहटमा स्रोत नखुलेको दुई लाख भन्दा बढी रुपैयाँसहित एक जना पक्राउ


eShilalekh

२३ आश्विन २०८३, शुक्रबार १२:५३

रौतहट: रौतहटको गौरबाट स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँ र मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालिका-१ का ४२ वर्षीय शेराज अलि रहेका छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एआर २४९५ नम्बरको टीभीएस राइडर मोटरसाइकलमा सवार अलिलाई गौर भन्सार कार्यालयअगाडि जिल्ला प्रहरी कार्यालय र भन्सार सुरक्षा गार्डको संयुक्त टोलीले शंका लागेर जाँच गरेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार जाँचका क्रममा उनको साथबाट पाँच सय रुपैयाँ दरका दुई सय ३३ थान नेपाली नोट (एक लाख १६ हजार पाँच सय रुपैयाँ) र पाँच सय रुपैयाँ दरका दुई सय थान भारतीय नोट (एक लाख भारतीय रुपैयाँ) गरी कुल दुई लाख १६ हजार पाँच सय अंकित मूल्य बराबरको रकम बरामद भएको हो।

बरामद रकम र मोटरसाइकलसहित पक्राउ परेका अलिमाथि हुण्डीसम्बन्धी कसुरमा आवश्यक थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्